काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्र देखिएको हो । प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ ।
तर, मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७, तरकारीको १.२४ र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।
गत फागुन महिनासम्ममा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४. १८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको ३.६० प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८, मधेशको ३.५२, बागमतीको २.९८ प्रतिशत र गण्डकी प्रदेशको दुई दशमलव ७७ प्रतिशतले बढेको छ । त्यस्तै, लुम्बिनीको ३.७७, कर्णालीको ३.८० र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत रहेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, तराईको ३. ७७, पहाडको ३.७२ र हिमालको ४.७७ प्रतिशत छ ।