काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ निष्काशन गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्न लागेको हो । जसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ । बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्रमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै डिबेन्चर बिक्री नभएमा भने वैशाख २१ गतेसम्म बिक्री खुला रहनेछ ।
लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । केयर रेटिङ्स नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटङ प्रदान गरेको छ । यसले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता तुलनात्मकरुपमा पर्याप्त रहेको र न्यूनतम कर्जा जोखिम भएको संकेत गर्दछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।