काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।
कार्यालयले गत साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो । असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यसैगरी, गत मंसिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ माघमा चार अर्ब २९ करोड र फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ ।