काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । हिजो शुक्रबार बसेको बैंक सञ्चालक समितिले घिमिरेलाई नियुक्त गरेको हो ।
घिमिरेलाई ४ वर्षको लागि नियुक्त गरेको हो । यसअघि उनी बैंकको वरिष्ठ नायब कार्यकारी अधिकृतमा कार्यरत थिए ।
हालका सीईओ सुनिल केसीको कार्यकाल यहि फागुन मसान्तमा सकिदैछ । केसीको कार्यकाल यहि महिना अन्त्यमा सकिने भएपनि उनी वैशाख ९ गतेसम्म एनएमबि बैंकमै सीईओको रुपमा रहने छन् ।
यो अवधिमा उनले अब बन्ने सीईओ घिमिरेलाई कार्यभार ह्याण्ड ओभर गर्ने छन् । घिमिरे बैंकिङ क्षेत्रमा राम्रो दख्खल भएका व्यक्ति हुन् । उनी २००९ देखि एनएमबि बैंकमा कार्यरत छन् ।
प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका घिमिरे १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।