काठमाडौं । हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ व्यवस्था लागू भएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार परिपत्र जारी गर्दै ग्राहकको पहिचान तथा सम्पुष्टिका आधारमा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने जनाएको छ ।
ग्राहकको पहिचान गर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्नेछ ।
कम्पनीले ऐनको दफा ७ ‘क’ र नियमावलीको नियम ४ तथा नियम ५ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्नेछ । ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिनेछ ।
हायर पर्चेजका लागि कर्जा दिने कम्पनीहरूले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थामा कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण गरेर मात्रै व्यावसायिक कारोबार गर्नु पर्नेछ ।
कम्पनीले व्यावसायिक कारोबार गर्दा पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति भनी छुट्याउनु पर्नेछ ।
अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति र कम्पनीले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी तथा बुँदा नं. (१) बमोजिम बनाइएको संयन्त्र प्रयोग गर्नुपर्नेछ ।
कम्पनीले ग्राहकसँग कारोबार गर्दा शंस्कापद लागेमा त्यसको जाँचबुझ गरी तत्काल शंकास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन तयार पार्नुपर्नेछ ।
सो प्रतिवेदन तयार गर्दा वित्तीय जानकारी इकाईले जारी गरेको’STR/SAR Guidelines’ तथा अन्य मार्गदर्शनहरुलाई आधार मान्नु पर्नेछ ‘goAML Operational Guidelines’s को पालना गर्नुपर्नेछ ।
कम्पनीले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा निज सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकिन गर्नुपर्नेछ ।
संस्थाले शङ्कास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निज बाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।