बैंकहरुले एक स्वरमा भने ‘अराजक गतिविधीहरुको पछि नलाग्नु, सबैको पैसा सुरक्षित छ’

काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल ,नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ती जारी गर्दै सबैको पैसा सुरक्षित रहेको स्पष्ट पारेको छ । बैंक विरुद्ध अराजक गतिविधि भैरहेको भन्दै त्यसको पछि नलाग्न समेत भनेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति÷नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको समेत बताइएको छ ।’

अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त (बेसल लगायत) को व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको समेत बताएको छ ।

यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं । ’
सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स