काठमाडौं । सहकारीको बचत अपचलन आरोपमा रवि लामिछानेसहित नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र पूर्व डीआईजी जोशी विरुद्ध आज आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी काटेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले पक्राउ पुर्जीका लागि अनुमति दिएका हुन् । पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको हो ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि उक्त फाइल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट झिकाएर अनुसन्धान अघि बढाएको हो ।
स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।
२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।
‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् ।
दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् । गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ ।