काठमाडौं । अटोमाबाइल क्षेत्रका दुई संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) ले आफ्नो उद्देश्यलाई स्पष्ट पारेका छन् ।
नाडा पुरानो संस्था हो भने नाईमा नयाँ गठन भएको संस्थाको हो । नाडा फुटेर नयाँ संस्था गठन भएको भन्ने लामो चर्चा बीच यी दुई संस्थाले संयुक्त समझादरी गर्दै आफ्नो उद्देश्यलाई स्पष्ट पारेका छन् ।
नाडाको अध्यक्ष अहिले करण चौधरी रहेका छन् भने नाईमाको अध्यक्ष ऋतु सिंह बैद्यलाई चयन गरिएको छ । दुई अध्यक्षको उपस्थितिमा समझदारी भएको हो ।
समझदारीमा दुई संस्थाले एक अर्कालाई स्वतन्त्र संस्थाको रुपमा स्वीकार गर्ने उल्लेख भएको छ ।
नाडा लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवद्र्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय रहँदै आएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन नाईमा भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्ने बताइएको छ ।
नाईमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । नाइमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने बताइएको छ ।
नाईमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ । यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पुरा गर्न काम गर्नेछ ।
हाल नाईमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका भएको रस्पष्ट पार्न आवश्यकता रहेको समझदारीमा बताइएको छ ।
नाडा र नाईमा दुबै संस्थाको स्वतन्त्र सह अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुबै संस्थाले विश्वास गर्ने उल्लेख गरिएको छ ।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध छन् । नाईमा ले २०८२ साल वैशाख ४ गते (१६ अप्रिल २०२५) मा आफ्नो औपचारिक शुभारम्भ गर्नेछ । सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्ने बताइएको छ ।