कृषि पेसामा रमाउँदै धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई–भैँसी, कुखुरा, माछा, फलफूल र तरकारीखेती लगाएका छन् ।

विजयर्खस्थित उनले आफ्नै जग्गामा १३ बङ्गुर फार्म सञ्चालन गरेका छन् । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यावसायिक कृषि फार्म सञ्चालन गरिएको उनले जानकारी दिए ।

विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० का हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछापोखरी, तरकारीखेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँच बङ्गुर फार्म छन् । जहाँ करिब दुई सय हाराहारीमा बङ्गुर र बँदेल छन् । त्यही सातवटा पोखरीमा माछापालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब पाँच सयको हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकाडो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्षलगायतको व्यावसायिक खेती लगाइएको छ ।

बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब दुई सयको हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकाडो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किबी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारीखेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसीगोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिचीलगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ ।

यस्तै राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसीपालन गरिएको व्यवसायी पोखरेल बताउनुहुन्छ । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब चार सयको हाराहारीमा बाख्रापालन गरिएको छ । पाँचवटा गाईपालन गरिएको छ । गाई बाख्राका लागि डाले र भुइँघाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारीखेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक–एक परिवारलाई पारिश्रमिकसहित सेयर सदस्यका रूपमा राखिएको छ । सेयर सदस्यका रूपमा राखिएका नौ घरपरिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् ।

फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि उहाँले बुइपाको पञ्चदोबाटोमा खानेबस्ने व्यवस्थासहितको होटल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोलेका छन् । फार्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठा ल्याइएको हो । प्रतिकेजी रु एक हजार दुई सयका दरले फार्मबाटै ५६ बँदेल बिक्री भइसकेको उनी बताउछन् । राजनीतिमा समेत सक्रिय रहेका पोखरेलले काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आएका छन् ।

बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानीमात्र भइरहेको पोखरेलले बताए । ‘कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरूपमा लगानीमात्र भइरहेको छ । आम्दानी सुरु भएको छैन । अहिलेसम्म रु १५ करोडभन्दा बढी लगानी गरिसकेको छु’, उनले भ, ‘जिम्मेवार निकायमा बसेकाहरू कृषिमा सम्भावना छ भनेर गफमात्रै गर्ने गरेका छन् । मैलेचाहिँ आफैँ गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती सुरु गरेका छन् । कृषि पेसालाई व्यावसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियानसमेत चलाइरहेको छु ।’

फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपक्षी काठमाडौँ निर्यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौँको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

हेडलाइन्स