साना किसान लघुवित्तको आडमा अघि बढेका युद्ध न्यौपाने, अहिले गर्छन् मनग्य आम्दानी

धादिङ । धादिङका एक युवा तरकारी खेतीबाटै मनग्य आम्दानी गर्छन् । देशमै बसेर ५ जनालाई रोजगारी समेत दिई आफू राम्रो आम्दानी गरिरहेका छन् ।

धादिङ धुनवेशी नगरपालिका वडा नं ५ घर भएका ४० वर्षिय युद्ध न्यौपाने विगत १० वर्षदेखि आफ्नो चेतना कृषि तथा पशुपन्छी फर्मबाट व्यवसायीक तरकारी खेती गरिरहेका छन् ।

प्राविधिक रुपमा तरकारी खेती गर्दै आएका उनको व्यवसायीक यात्रा भने साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सुरु भएको हो ।

उनका बुवा साना किसान लघुवित्त संस्थाको सदस्य भै संचालक समितिमा गई सकेपछि बुवाले किसानसँग जोडिएर काम नियाली रहेका युद्ध न्यौपानेलाई पनि आवद्ध हुन मन लाग्यो ।

संस्थामा आवद्ध हुन मन लागेपछि एउटा समूह गठन गरी संस्थामा प्रवेश गरेका थिए । त्यसपछि यहि संस्था मार्फत ११ महिना इजरायल बसेर आएका न्यौपाने गाउँ फर्के ।

गाउँ आएपछि उनले तरकारी खेतीलाई झनै बढाउँदै गए । सुरुमा परम्परागत खेती गर्दै आएका न्यौपानेले इजरायलबाट फर्केपछि आफूले सिकेको प्राविधिक ज्ञान उपयोग गरे ।

साथै, उनले आफ्नो दायरा विस्तार समेत गरे । इजरायलबाट फर्कदा अलिअलि पैसा लिएर आएका उनले साना किसान लघुवित्तबाट १० लाख ऋण लिएका थिए ।

त्यो पैसामा मात्र लगानी नगरी उनले जग्गा किनेका थिए । व्यवसाय विस्तार गर्ने क्रममा वाणिज्य बैंकबाट ६० लाख रुपैयाँ ऋण लिई त्यस पैसाबाट केहि जग्गा खरिद गरे भने केहि पैसा कृषिमै लगानी गरेका थिए ।

साना किसान लघुवित्त र वाणिज्य बैंकको ऋण तिरेर एनआईसी एसिया बैंकबाट १ करोड रुपैयाँ ऋण लिएर केहि पैसा जग्गामा लगानी गरेर केहि पैसा कृषिमा लगानी गरेका छन् ।

५–६ लाख रुपैयाँ लगानी गरी व्यवसाय सुरु गरेका उनले अहिले वार्षिक लाख भन्दा बढी रकम कमाउने गरेको उनको भनाई छ ।

दैनिक रुपमा ५ जना कामदारहरुलाई रोजगार दिंदै आएका छन् भने आंशिक रुपमा अन्य कामदारहरु पनि रहेका छन् ।

अहिले उनी ७० रोपनी जग्गामा वर्षभरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

आफ्नै गाउँमा तरकारी खेती गरि उत्पादित तरकारीहरु दैनिक रुपमा कालिमाटी र बल्खुको तरकारी बजारमा ल्याएर बेच्ने गरेका उनले प्रशस्त आम्दानी गरी रहेका छन् । उनले वार्षिक लाख रुपैयाँको कारोबार गर्छन् ।

उनी भन्छन् ‘व्यवसाय सुरु गर्नु भन्दा अगाडी अर्ध ज्ञान, पुँजीको अभाव , कृषि कार्यालयसँग चिनजान नभएको कारण सल्लाह दिने व्यक्ति नभएका कारण धेरै समस्याहरु भोग्नु पर्यो ।’

युद्ध न्यौपानेले अहिले मानसम्मान समेत धेरै पाएका छन् । उनले राष्ट्रपति उत्कृष्ट पुरस्कार धादिङबाट प्रथम, राष्ट्रपति उत्कृष्ट पुरस्कार वाग्मती प्रदेशबाट प्रथम, इजरायल एम्बेसी र अवसर फाउन्डेसनबाट दोस्रो वर्षको कृषि तारा अवार्डबाट ५ लाख रुपैयाँ सहित प्रथम पुरस्कार प्राप्त, साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट प्रत्येक प्रदेश स्तरीयमा वाग्मती प्रदेशबाट पुरस्कृत हुन सफल भएका छन् ।

न्यौपाने जीवनपुर साना किसान कृषि सहकारी संस्थाको संचालक समिति सदस्य, धादिङमा ४ वटा पालिका अन्र्तगत तरकारी जोन लागू भएको छ ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वन इकाई धादिङ’ उक्त संस्थाको संम्योजक पनि रहेका छन् ।

उनी कृषि व्यवसाय सुरु गर्न चाहनेलाई सुझाव दिदैं भन्दछन् ‘सबै भन्दा पहिले कृषिको ज्ञान हुनु पर्दछ । पूर्ण रुपमा तालिम लिने, लागानी गर्न लागानीको स्रोतहरु पहिचान गर्ने, बजार के हो ? म कहाँ खेती गर्दै छु, मेरो बजार कहाँ छ ? आफूले उत्पादन गरेका वस्तुहरु कहाँ बेच्न सक्छु भन्ने कुराहरु ध्यान दिनुपर्छ ।’

उनका अनुसार व्यवसयामा धैर्यता चाहिन्छ । व्यवसाय आजको भोलिनै नाफा कमाउँछु भन्ने होइन कृषि भनेको एउटा जुवा जस्तै हुन्छ कहिले नाफा हुन्छ कहिले घाटा हुन्छ । पर्खन सक्ने मान्छेमा शक्ति नि हुनुपर्ने उनको भनाई छ । अहिले आफ्नो सफलतालाई समेत त्यसरी नै उनी दाँजो गर्छन् ।

उनी भन्छन्, ‘धेरै कमाउँछु भनेर कृषिमा लाग्नु भन्दा पनि समान्य जीवन यापन गर्ने आफ्नो परिवार सम्म रमाउने, सुखी हुन चहाना छ भने कृषिमा लाग्न सल्लाह दिन्छन् ।’

प्रतिक्रिया

हेडलाइन्स